मेरो गाउँ

रेजिना राई, कक्षा ९

हरियालीले सजिएको, सुन्दर मेरो गाउँ,
डाँडापाखा मुस्कुराउँछन्, शीतल दिने ठाँउ।
खोलानाला कलकल गर्छन्, चराहरू गाउँछन्,
प्रकृतिको काखमा बसी, सुखका दिन बिताउँछन्।

बिहानीमा घाम झुल्कन्छ, सुनौलो किरण छर्छ,
खेतबारीमा किसानहरू, मेहनत गर्दै हिँड्छ।
धान, मकै, कोदो पाक्छ, बारीभरि हरियाली,
श्रम र पसिनाले लेखिन्छ, गाउँको मीठो कहानी।

आँगनभरि बालबालिका, हाँस्दै खेल्छन् रमाई,
चाडपर्वमा सबै जुट्छन्, खुसी बाँड्दै रमाई।
छिमेकीको दुःख–सुखमा, सबै हुन्छन् साथ,
मायाममता र एकताले, बलियो हुन्छ हात।

मेरो गर्व हो, मेरो प्यारो ठाउँ,
जहाँ भेटिन्छ शान्ति, माया र आफ्नोपनको नाँउ ।
जन्मभूमिको माटो सधैँ, मुटुभित्र बसिरहोस्,
मेरो सुन्दर गाउँ सधैँ, समृद्ध र हाँसिरहोस्।

मेरो विद्यालय जीवन

श्यामकुमार राई (विमल), पूर्व विधार्थी

बिहान उठ्दा आँखा भन्छ, “आज पनि स्कुल जानु?”
आमाले भन्छिन्, “छिटो उठ, नत्र सरको गाली खानु!”
झोला बोकी दौडिँदा जुत्ता कतै बाटोमै हरायो,
स्कुल पुग्दा थाहा भयो-एउटा मोजा पनि घरमै रह्यो!

कक्षामा सर आउँदा हामी सबै शान्त बन्थ्यौँ,
सर बाहिर निस्केपछि फेरि बाँदरजस्तै नाच्थ्यौँ।
गृहकार्य सोध्दा भन्थ्यौँ, “सर, कापी त ल्याउनै बिर्सिएँ,”
सरले मुस्कुराउँदै भन्नुहुन्थ्यो, “बहाना त राम्रो सिकिएछ!

”टिफिनको घण्टी बज्दा पढाइ तुरुन्तै भाग्थ्यो,
दालभातभन्दा साथीको अचार मिठो लाग्थ्यो।
एक जनाको बिस्कुट सबै मिलेर खान्थ्यौँ,
आफ्नो टिफिन चाहिँ “भोलि खान्छु” भन्दै लुकाउँथ्यौँ!

परीक्षा आयो भने किताबसँग मित्रता गाँस्थ्यौँ,
एक रात पढेर भोलिपल्ट विद्वान् बन्छौँ भन्थ्यौँ।
आज ती दिन सम्झँदा हाँसो पनि आउँछ,
मेरो स्कुल जीवन-सम्झनामा सधैँ रमाइलो रहन्छ!

Scroll to Top